काठमाडौ, जेष्ठ ३२ – तराई-मधेस केन्द्रित मधेसी जनअधिकार फोरम, नेपाल र पहाड केन्द्रित संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच एकीकरण भएको छ ।
काठमाडौंको सोह्रखुट्टेस्थित एक पार्टी प्यालेसमा तीनवटै मिलेको नयाँ दल संघीय समाजवादी फोरम घोषणा भएको हो । नवघोषित दलको अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् भने बरिष्ठ नेता अशोककुमार राई चयन भए । सहअध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भए ।
यादव, राई र श्रेष्ठको पृष्ठभूमि एमाले हो ।
संविधानसभामा प्रतिनिधित्व नभएको खस समावेशी पार्टीका अध्यक्ष युवराज कार्की नयाँ दलको उपाध्यक्ष चयन भए । उनीसँगै रकम चेम्जोङ, लालबाबु राउत र रेणुकुमारी यादव पनि उपाध्यक्ष भए ।
महासचिवमा रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव चयन भएका छन् ।
उपमहासचिवमा अभिषेकप्रताप शाह र दानबहादुर बिक, सचिवमा पर्शुराम बस्नेत, रत्नेश्वरलाल कायस्थ र कोषाध्यक्ष विजयकुमार यादवलाई जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सल्लाहकार समितिको सभापतिमा मंगलसिद्धि मानन्धर र निर्वाचन आयोगको सभापति दुर्गामणि देवान भएका छन् ।
केन्द्रीय समितिमा २ सयभन्दा बढी छन् ।
संविधानसभामा फोरमको १० र संघीय समाजवादी पार्टीको ५ सिट थियो । एकीकरणपछि बनेको पार्टी संविधानसभाको पाँचौ ठूलो दल भएको छ । १४ सिट भएको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक छैटौं स्थानमा झरेको छ ।
उपेन्द्र यादव नेतृत्वको फोरम मधेस विद्रोहको जगमा निर्माण भएको हो भने संघीय समाजवादी पार्टी पहिचानको मुद्धा उठाउँदै एमालेका नेता कार्यकर्ता मिलेर बनेको थियो ।
यादव नेतृत्वको फोरम पहिलो संविधानसभामा ५४ सिटसहित चौथो ठूलो पार्टी भएको थियो । सत्ताका कारण पटक पटक चोइटिएपछि विभाजित फोरम शक्तिहीन अवस्थामा पुगेका थिए । ईकन्तिपुरमा समाचार छ ।