काठमाडौ – भूकम्पपछि अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव परेपनि यस बर्ष बजार भाउ भने त्यति नबढने देखिएको छ । बैंशाख महिनामा पनि ७ दशमलब ५ प्रतिशतभित्र औसत मुल्यवृद्धिदर कायम हुन गएपछि राष्ट्र बैंकले बजार भाउ यस बर्ष नअकासिने आंकलन गरेको हो ।
पछिल्लो १० महिनाको औसत मुद्रास्फिति दर र जेठ तथा असारको एतिहासिक अवस्था (विगत हुने गरेको बजार भाउ) लाई आधार मानेर राष्ट्र बैंकले मुल्यवृद्धि औसतमा ८ प्रतिशतकै हाराहारीमा रहने प्रक्षेपण गरेको हो । ‘भुकम्पपछि माग घटेकाले बैसाखमा बजार भाउमा चाप परेन,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख मीन बहादुर श्रेष्ठले कान्तिपुरसित भने, ‘जेठ र असारमा अलि बढि भएपनि ८ प्रतिशत भन्दा कमै रहने देखिन्छ ।’
राष्ट्र बैंकले सर्वसाधारणले उपभोग गर्ने ३ सय १० वस्तु तथा सेवालाई डालोमा राखेर बजार भाउको अवस्था अध्ययन गर्छ । निश्चित शुत्र अनुसार यी वस्तुको मुल्यको उतार चढावको आधारमा उपभोक्ता मुल्य सुचकांक -सिपिआइ) निकालिन्छ । त्यहि सिपिआइमा हुने वृद्धिलाई मुद्रस्फि ति दरमा भएको वृद्धि भन्ने गरिएको हो ।
यसले औसत बजार भाउ देखाउन हुदा हामीले सधै उपयोग गर्ने केहि सामानको मुल्य अत्यधिक बढदा पनि औसत कम नै देखिन्छ । जस्तो कि भुकम्पपछि दालको मुल्य प्रति किलो ४० रुपैयासम्म बढेको छ । तर भुकम्प लगत्तै तरकारीको मुल्य भने घट्यो ।
भुकम्पपछि करिब १० लाख उपभोक्ता राजधानीबाट बाहिरिएपछि माग कम भएकाले तरकारीको मुल्य कम भयो । अन्य उत्पादनको पनि माग कम भएकाले मुल्य अकासिन पाएन । ‘भुकम्पपछि तरकारी मात्रै नभइ अन्य वस्तुको पनि माग कम भएकाले मुल्य अकासिन पाएन,’ श्रेष्ठले भने, ‘त्यसको असर पनि देखिएको हो ।’
ठुलो भुकम्प गएपनि राजधानी लगायत अन्य मुख्य शहर जोडने राजमार्ग र विमानस्थल सुरक्षित भएकाले पनि बजारमा सामानको अभाव हुन पाएन । व्यापारिले कालाबजारी गर्न खोजेपनि मागै कम भएका कारण सम्भव भएन । इलेक्ट्रोनिक्स लगायत विलासिताका वस्तुको बिक्रि अझै बढन सकेको छैन ।
यसबाहेक भारतमा पनि मुल्यवृद्धिदर न्युन भएकाले यहा असर नपरेको हो । ६५ प्रतिशत सामान भारतबाट आयात हुन्छ । त्यसैले भारतबाट वस्तुसंगै मुद्रस्फिति पनि आयात गरिरहेको विश्लेषकहरुको बुझाइ छ । ‘भारतमा मुद्रस्फितिदर ५ प्रतिशत मात्रै हुनु पनि बजार भाउ धेरै नबढनुको अर्को कारण हो,’ श्रेष्ठले भने, ‘त्यहा जम्मा ५ प्रतिशतको मुद्रास्फितिदर छ ।’
यस बर्ष मुल्यमा चाप नपरेपनि आगामी बर्ष भने बजार भाउ नियन्त्रण गर्नु चुनौतिपुर्ण हुने राष्ट्र बैंकको भनाइ छ । आगामी बर्षको बजेटको आकारमा हुने भारि वृद्धि, गैर सरकारी क्ष्ाेत्रबाट हुने खर्च र त्यसले बढाउने श्रमिकको ज्यालाका कारण मुल्यवृद्धि बढि हुने श्रेष्ठको बुझाइ छ । ‘आगामी बर्ष भने बजारमा हस्तक्षेप गरि मुल्य नियन्त्रणको उपाय अबलम्बन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘दोहोरो अंक छुन सक्छ ।’
तर अगामी बर्ष पनि मुल्य नियन्त्रण निक्कै चुनौतिपुर्ण छ । बजारमा अत्यधिक तरलता छ । अगामी बर्ष झन बढने अनुमान छ । धेरै तरलता प्रसोचन गर्न सक्ने सिमा पनि नरहने हुदा मौदि्रक उपायबाट मुल्य नियन्त्रण केन्दि्रय बैंकका लागि चुनौतिपुर्ण रहने छ ।
यसबाहेक यस बर्षको मनसुनमा बाटो अवरुद्ध हुने सक्ने खतरा र यातायात क्षेत्रको सिन्डिकेटले बजार भाउ तल आउन नदिने खतरा छ । सर्वसाधारणले मुल्यवृद्धिको चाप आगामी बर्ष मात्रै बेहोर्नुपरे पनि समग्र आर्थिक परिसूचकमा भने भुकम्पको नराम्रो प्रभाव परिसकेको छ ।
यस बर्ष मुलुकको अर्थतन्त्रको विस्तार ३ दशमलब ०४ प्रतिशतले मात्र हुने प्रक्षेपण केन्दि्रय तथ्यांक विभागको छ । ५२ अर्बको उत्पादन घटेको प्रक्षेपणका आधारमा उक्त तथ्यांक निकालिएको दावी विभागको छ । भुकम्प नगएको भए ४ दशमलब ५८ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) बढने प्रक्षेपण विभागको थियो । यस बर्षको वृद्धिदर ८ बर्षयताकै न्युन हो । पहिलो संविधानसभाको निर्वाचन यता यति न्युन वृद्धिदर थिएन ।
विपद पछिको आवश्यकता पहिचान (पिडिएनए) अनुसार भुकम्पका कार ७ खर्ब क्षति भएको छ भने पुर्ननिर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्ने छ । कान्तिपुर दैनिकमा समाचार छ।