वीरगन्ज, पर्सा – भूकम्पका कारण वीरगन्ज भन्सार कार्यालयलाई रु डेढ अर्ब बढीको नोक्सानी भएको छ । भूकम्पका कारण जेठ महिनामा रु एक अर्ब ७५ करोड ३७ लाख दुई हजार राजस्व क्षति भएको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई जेठ महिनामा रु आठ अर्ब ९४, करोड ५१, लाख ४४, हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा रु सात अर्ब १९, करोड १४, लाख ४२ हजार मात्र राजस्व सङ्कलन गरेको छ ।
‘लक्ष्य भन्दा झन्डै २० प्रतिशतले कम राजस्व सङ्कलन भएको छ,’ कार्यालयका सूचना अधिकृत सुशील शर्माले भने । भूकम्पका कारण वैशाख महिनामा समेत वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको थियो । वैशाख महिनामा मात्रै कार्यालयलाई रु दुई अर्ब, ६१ करोड, २७ लाख, २८ हजार ७८३ रुपैयाँ घाटा भएको छ । यहाँ वैशाख महिनामा रु पाँच अर्ब ६१, करोड ७४, लाख २२, हजार २१७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
उक्त कार्यालयले औसतमा दैनिक रु ३० करोडदेखि रु ३२ करोडसम्म राजस्व सङ्कलन गर्ने गरेको छ । तर भूकम्पपछि भन्सार कार्यालयको राजस्व सङ्कलन घटेको छ । भूकम्पले विभिन्न स्थानका व्यापारिक गोदाम क्षतिग्रस्त भएका तथा अहिलेसम्म नखुलेका कारण भारतबाट सामानको आयतमा गिरावट आएको प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले जानकारी दिए । रासस