भक्तपुर, आषाढ ४ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार २०७१ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ४७ दशमलव ४३ र एक्जाम्टेडतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमित र एक्जामटेडतर्फ गरी यसपटक कुल २ लाख ११ हजार ४५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
नतिजाअनुसार २१ हजार २ सय ४७ जना परीक्षार्थी विशिष्ट श्रेणीेमा, ९० हजार १ सय ७६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै, ७६ हजार ४ सय ८२ जना द्धितीय श्रेणीमा र ४ हजार ३ सय ६२ जना परीक्षार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
एसएलसीमा यस वर्ष नियमिततर्फ कुल ४ लाख ५ हजार ३ सय ३८ जना र एक्जाम्टेडतर्फ १ लाख ३६ हजार ५१ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको पुरक परीक्षाका लागि श्रावण २० देखि २७ गतेसम्मको मिति तोकेको छ । दुई विषयसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीले पुरक परीक्षा दिन पाउने छन् ।
एसएलसीको परीक्षाफल १६०० मा फोन गरेर थाहा पाउन सकिनेछ । यस्तै, मोबाइलको म्यासेज बक्समा गएर SLC लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेपछि १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने छ ।
यस्तै, डब्लुडब्लुडब्लु डट एसएलसी डट नेट डट एनपी, डब्लुडब्लुडब्लु डट डीओइ डट जीओभी डट एनपी, डब्लुडब्लुडब्लु डट एसओसीइ डट जीओभी डट एनपी र डब्लुडब्लुडब्लु डट एमओइ डट जीओभी डट एनपीमा पनि परीक्षाफल हेर्न सकिन्छ । संचारमाध्यममा समाचार छ ।