सर्वोच्च पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका नामको जग्गा फिर्ता हुने गरी फैसला

सर्वोच्च अदालतले नेपाल ट्रष्टमा राखिएको छाउनीस्थित अर्बौं मूल्य पर्ने करिब १५ रोपनी जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका नाममा फिर्ता हुने गरी फैसला सुनाएको छ ।
 सरकारले पूर्वराजा विरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। त्यो जग्गा पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहको नामको भएको भन्दै सर्वोच्चले सरकारी निर्णय बदर गरिदिएको हो। उनको नाममा भएको जग्गा उनैलाई दिन पनि सर्वोच्चले भनेको छ।
 
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्य लक्ष्मीले त्यो जग्गा आफूले दाइजोमा पाएको दाबीसहित गत माघमा सरकारी निर्णय विरुद्ध रिट दिएकी थिइन्। 
 
२०६४ साल पुस १ मा सरकारले उक्त जग्गा नेपाल ट्रष्टको मातहतमा लिने निर्णय गरेको थियो। भने गत माघमा २५ मा प्रेरणा सर्वोच्च गएकी थिइन्।
 
प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणाको आइतबारको इजलासले प्रेरणाको रिटमा फैसला गर्दै उक्त जग्गा नेपाल ट्रष्टले लिन नपाउने भनेको हो।