पहिरोमा बेपत्ता भएकाको परिवारलाई पनि मृतकको सरह राहत र सेवा सुविधाका लागि माग

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले पहिरोमा बेपत्ता भएकाको परिवारलाई पनि मृतकको सरह राहत र सेवा सुविधाका लागि सरकारसँग अनुरोध गरेको छ। 
 
गत जेठ २७ गते राति गएको पहिरोले जिल्लामा अझै २० जना बेपत्ता रहेका छन्। 
 
पहिरो गएको दिनदेखि लगातार खोजीकार्य जारी राख्दासमेत हालसम्म बेपत्ताको शव फेला नपरेपछि परिवारकै अनुरोधमा यस्तो माग गरिएको हो। 
 
हालसम्म पहिरोका कारण खोक्लिङमा चार र लिवाङमा १६ जना बेपत्ता रहेका छन्। मृतकका परिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले रकमसमेत वितरण भइसकेको छ भने बेपत्ताका परिवारले हालसम्म केही पाएका छैनन् । परिवारजनले भने बेपत्ता भएकाको काजकिरिया गरिसकेका छन्। रासस