नुवाकोटमा मात्र वैशाख १२ गतेको भूकम्पका कारण २ सय ८८ परिवार पहिरोको उच्च जोखिममा

नुवाकोट, आषाढ १२ । तीनओटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाको तीन नम्बर क्षेत्रमा मात्र वैशाख १२ गतेको भूकम्पका कारण २ सय ८८ परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
तीनओटा निर्वाचन क्षेत्र भए पनि अरु दुई क्षेत्रमा त्यस्ता जोखिमयुक्त बस्ती कहाँ-कहाँ, कति छन् भन्ने अनुसन्धान नै हुन सकेको छैन ।
तीन नम्बर क्षेत्रका १८ मध्ये १४ गाविसमा जोखिमयुक्त बस्ती रहेको हो । भूगर्भविद्, इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गरी १४ गाविसको १८ स्थान असुरक्षित रहेको जनाएको हो ।
असुरक्षित स्थानको बस्तीलाई तत्काल स्थानान्तरण गर्न टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिमा सिफारिस गरेको छ । जिल्ला भू-संरक्षण कार्यालय नुवाकोटका प्रमुख श्यामसुन्दर श्रेष्ठ र जल उत्पन्न प्रकोप सव डिभिजन कार्यालयका प्रमुख हरि गुरागाइँ संयोजक रहेको टोलीले अध्ययन गरी प्रतिवेदन दिएको हो । इमेजखबरमा समाचार छ । 
जसअनुसार फिकुरीमा ९७, देउरालीमा ६३, किम्ताङमा ४७, मनकामनामा १४, भाल्चेमा १२, काहुलेमा दुई विद्यालय र १६ घर तथा दाङसिङ गाविसमा दुई घर पहिरोको जोखिममा रहेका हुन् ।
वर्षात सुरु भैसकेकाले जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न टोलीले सुझाएको छ ।
क्षेत्र नम्बर १ र २ मा पनि प्रशस्तै बस्ती पहिरोको जोखिममा रहेकाले अध्ययन गरिदिन जिल्ला दैवी प्रकोप समितिमा निवेदन दिइएपनि टोली नखटाइएको स्थानीयले गुनासो गरेका छन् । इमेजखबरमा समाचार छ ।