सिन्धुपाल्चोकमा एकीकृत बस्ती निर्माणका लागि पहल सुरु

सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ स्थित पीपलडाँडामा एकीकृत बस्ती निर्माणका लागि पहल सुरु भएको छ । शनिबार  सिद्धिकमला देवी माविको प्रांगणमा भएको एक अन्तरक्रिया कार्यक्रमबाट सिंगो गाउँलाई एकिकृत बस्तीमा समेट्न पहल सुरु गरिएको हो ।
भुकम्पले ध्वस्त बनाएको बस्तीमा बसोबास गर्दा मानसिक तनाव हुने देखिएपछि यस्तो अवधारणा अगाडि सारिएको हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पूण्यप्रसाद न्यौपानेसहितको बुद्धिजीवीको सक्रियतामा गाउँलाई एकीकृत बस्तीमा परिणत गर्न लागिएको छ। नूमना बस्तीमा परिणत गर्न एकिकृत बस्ती जरुरी रहेको स्थानीयले बताएका छन्। एकिकृत बस्ती निर्माण सुरु गरिने अन्तरक्रिया कार्यक्रममा गाँउका सबै धरधुरीका बासिन्दा उपस्थित थिए ।
कार्यक्रममा एकिकृत बस्ती निर्माणका संयोजक सोम सापकोटाले अवधारणा पत्र प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको पत्रमा एकीकृत बस्तीबाट समाजलाई हुने फाइदाबारे उल्लेख गरिएको थियो। सापकोटाले प्रस्तुत गरेको अवधारणा पत्रमाथि बुद्धिजीवी एवं समाजसेवीले टिप्पणी गरेका थिए। नेपाल सरकारका पूर्व सहसचिव नेत्रप्रसाद न्यौपाने, बरिष्ठ प्रहरी उपरीक्षक इन्द्रप्रसाद न्यौपाने र डाक्टर इन्जिनियर मुरली रञ्जितले टिप्पणी गरे।
 
भूकम्पले ध्वस्त यो गाउँमा ४५ जनाको मृत्यु भएको थियो। ४ सय २२ घरधुरीमध्ये ४ सय ५ घर पूर्ण क्षति भए। ४ हजार ३ सय ६६ जनसंख्या रहेको पीपलडाँडामा १२ बालबालिकाले भूकम्पबाट आफ्ना अभिभावक गुमाएका छन्। सेतोपाटीमा समाचार छ ।