स्थानीय निकाय चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले स्थानीय निकाय चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार गृहमन्त्री बामदेव गौतम र संघीय मामला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहसमेतलाई बोलाएर गरिएको बैठकमा स्थानीय निकायको चुनाव चाँडो गर्न भनिएको हो ।
मन्त्री सिंहले भने राजनीतिक सहमति नहुँदासम्म स्थानीय निकायको चुनाव गर्न नसकिने बताएका थिए ।
चुनावको तयारीका बारेमा समितिले निर्वाचन आयोगसँग पनि जानकारी लिएको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले सरकारले चुनावको मिति घोषणा गरे जुनसुकै अवस्थामा पनि आयोग चुनाव गराउन तयार रहेको बताएका थिए ।
स्थानीय तहमा लामो समयदेखि जनप्रतिनिधि नहुँदा विकास निर्माणमा अप्ठेरो भएको छ भने हालैको भूकम्पपछिको राहत वितरण, अस्थायी बसोबास, पुनःनिर्माणमै असहज अवस्था सिर्जना भएको छ ।
२०५४ सालमा गरिएको चुनावबाट निर्वाचित जनप्रतिनिधिको समयावधि २०५९ सालमै सकिए पनि सरकारले स्थानीय तहको चुनाव अहिलेसम्म गरेको छैन ।
समितिले निर्वाचन आयोगमा रिक्त आयुक्तहरुको पदपूर्ति गर्न पनि सरकारलाई निर्देशन दिएको छ । इमेजखबरमा समाचार छ।