काठमाडौ – बिरोधकाबीच संविधानको मस्यौदा मंगलबार संविधानसभामा पेस भएको छ । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यैदा पेस गरे लगत्तै असन्तुष्ट मधेसी दलका सभासदले बिरोधमा नारावाजी गर्दै संविधानसभा भित्रै मस्यौदाकाे प्रति च्यातेका छन् ।
भाषा र शब्दको विवादले सोमबारको बैठकमा मस्यौदा पेस हुन सकेको थिएन । प्रमुख दलबीच विवाद मिलेपछि मस्यौदा पेस गर्न बोलाईएको बैठक सुरु हुनासाथ सभासद विश्वेन्द्र पासवान र रुक्मिणि चौधरीले बिरोध थालेका थिए । सभाध्यक्ष नेम्वाङ त्यहीबीचमा सिटौलालाई मस्यौदा प्रस्तुत गर्न अनुमति दिएका थिए ।
सिटौलाले मस्यौदा वाचन गरे लगत्तै आफ्नो स्थानबाट उठेका मेधेसी दलका सभासदहरु रोस्टम घेर्दै नारावाजी र मस्यौदा च्यात्ने काम गरे । सभाध्यक्ष नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक असार-१७ गते बोलाएका छन् ।
संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक र सदभावना लगायतका पार्टीका सभासदहरु नारावाजी गर्दै संविधानसभबाट निस्केका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्रयाकका नाममा ल्याउन खोजिएको संघीयता बिनाको संविधान मान्य नहुने बताए । उनले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नआए त्यो स्विकार नहुने र आफूहरु आन्दोलनमा होमिए चेतावनी दिए ।
अपरान्ह २ बजेलाई बोलाईको बैठक साँझ ८ बजे मात्र बसेको हो । यसअघि मस्यौदा समितिका सभापति सिटौलाले दलहरुबीचको सहमतिपछि सभाध्यक्ष नेम्वाङलाई संविधानको मस्यौदा बुझाएका थिए ।
कांग्रेस सभासद गिरी बाहिरिए
कांग्रेस सभासद प्रदीप गिरीले सभाध्यक्षबाट बोल्ने समय नपाउँदा उनी संविधानसभाबाट निस्केका छन् । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा पेस गर्नु अगावै उनले बोल्न खोजेका थिए । तर सभाध्यक्षले अनुमति दिएनन् । उनी सभाध्यक्ष बिरुद्ध असन्तुष्टि पोखेका थिए । सभाध्यक्ष नेम्वाङले ‘तपाईहरुले बनाएको नियमावलीले सभाध्यक्ष विरुद्ध टिप्पणी गर्न मिल्दैन’ भन्दै सम्झाएका थिए । त्यसपछि गिरी संविधानसभाबाट बाहिरिएका थिए । ईकन्तिपुरमा समाचार छ ।