काठमाडौं – राष्ट्रिय रुपमा बजेट ल्याउन एकीकृत माओवादीले माग गरेको छ। शनिबार बसेको एमाओवादी संसदीय दलको बैठकले विगतको क्रमभंगताको रुपमा नयाँ बजेट ल्याउन माग गर्ने निर्णय गरेको हो।
बैठकले विगतको निरन्तरता र पराम्परावादी बजेटभन्दा पनि जनताले राहत महशुस गर्ने र विकासमा क्रमभंग हुनेगरी ल्याउन सरकारलाई सुझाव दिने निर्णय गरेको सभासद भक्ति पाण्डेले जानकारी दिए। त्यसकालागि संसदीय दलका उपनेता टोपबहादुर रायमाझीको संयोजनकत्वमा एक कार्यदल गठन गरेको उनले बताए। कार्यदलमा प्रमुख सचेतक गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनकराज जोशी सदस्य छन्।
‘कांग्रेस एमालेले भूकम्पपीडितको नाममा सबै आफ्ना मात्र योजना पार्ने गरी बजेट ल्याउने तयारी गरेको थाहा भएको छ,’ उनले भने,’अब आफ्ना कार्यकर्ताका मात्र योजना पार्ने र परम्पराबादी बजेटलाई अन्त्य गर्दै विकासको क्रमभंग हुनेगरी नयाँ बजेट ल्याउन सरकारसँग समन्वय गर्ने निर्णय भएको छ।’ बजेटमा यसपटक थप राष्ट्रिय गौरवका योजना ल्याउनुपर्ने विषयमा छलफल थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल तथा नेता बाबुराम भट्टराई भने उपस्थित थिएनन्। नागरिकन्युजमा समाचार छ ।