काठमाडौं । आफ्ना भनाइ संविधानको मस्यौदामा नराखिएको भन्दै मधेश केन्द्रित केही दलले संविधानसभाको बैठक बहिष्कार गरेका छन् ।
बानेश्वरस्थित संविधानसभा भवनमा बसेको बैठक संघीय समाजवादी फोरम नेपालसहितका चार मधेशी दलले बहिष्कार गरेका हुन् ।
बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताए ।
उनले आइतबारको बैठक बहिष्कार गर्ने घोषणा पनि गरे । उनको घोषणासँगै चार दलका सभासदहरु बैठकबाट बाहिरिए । संविधानसभाको बैठक भने चलिरहेको छ ।
यसअघि शुक्रबार र बिहीबार भने संविधानको मौलिक हकमा धर्म परिवर्तन गर्ने अधिकार राखिएको भन्दै राप्रपा नेपालले बैठक चल्न दिएको थिएन ।
तर प्रमुख तीन दलका शीर्ष नेताले आगामी संविधानमा धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्म परिवर्तनको हकका रुपमा कायम नगर्ने सहमति गरेपछि राप्रपा नेपालले बैठक चल्न दिएको थियो । इमेजखबरमा समाचार छ ।