काँग्रेस संसदीय दलको बैठकमा बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव

काठमाडैं – नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आइतबार बसेको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिएका छन्।
संविधानसभा भवन बानेश्वरमा चार दिनदेखि पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।लामो प्रयासपछि संविधानको मस्यौदा ल्याउन सफल भएकामा प्रशन्नता व्यक्त गर्दै वक्ता सदस्यहरुले यो उपलब्धिलाई शान्ति र स्थायित्वसँग जोडेर लैजानुपर्ने बताए ।
धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता कायम गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव उनीहरूले संविधानमा धार्मिक स्वतन्त्रताको विषयलाई समावेश गराउँदा यसले कसैलाई निषेध नगर्ने तर्क प्रस्तुत गरेका थिए ।समानुपातिक समावेशीताको मुद्दालाई अझ प्रभावकारी तुल्याउने काममा पार्टी नेतृत्वले धेरै नै ध्यान पुर्याउन आवश्यक रहेको कतिपय सदस्यहरुको भनाइ थियो । केही सदस्यले अदालतको आदेशले ल्याएको संवैधानिक समस्या र प्रदेशको नामाङ्कन र सीमाङ्कनको विषयलाई पनि टुङ्ग्याएर अघि बढ्दा राम्रो हुने धारणा राखेका थिए ।
आजको बैठकमा बालकृष्ण खाँण, सीता गुरुङ, दीपक गिरीलगायत १६ जनाले संविधानको प्रारम्भिक मस्यौदामा केन्द्रित रहेर धारणा राखेका थिए।बैठकपछि पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडुले बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संविधानसभाबाट पूर्ण संविधान जारी हुने व्यवस्था मिलाउन तथा सङ्घीयताको विषयलाई टुङ्ग्याएरमात्र अघि बढ्दा आउन सक्ने चुनौतीकाबारे सुझाव प्रस्तुत गर्नुभएको जानकारी दिए । बैठक भोलि पनि जारी रहने छ । रासस