धर्मनिरपेक्षताको खारेजी तथा हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग राख्दै राप्रपा नेपालद्धारा आन्दोलन घोषणा

काठमाडौं, असार २० – धर्मनिरपेक्षताको खारेजी तथा हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग राख्दै राप्रपा नेपालले आन्दोलन घोषणा गरेको छ । उसले असार २२ गतेदेखि सबै जिल्ला सदरमुकाम केन्द्रित आन्दोलन सुरु गर्ने जनाएको छ ।
काठमाडौं उपत्यकामा भने तीनै जिल्लाको संयुक्त जुलुसले असार २२ गते मंगलबार संविधानसभामा धर्ना दिने राप्रपा नेपालले जनाएको छ । श्रावणको पहिलो हप्तादेखि अनिश्चितकालिन राजधानी केन्दि्रत संघर्ष गरिने छ, केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘हिन्दुराष्ट्रलगायत पार्टीको अन्य एजेण्डाहरु स्थापित गर्न संविधान निर्माणको अन्तिम समय पार्टीका सभासदहरुले संबिधानसभामा सशक्त भुमिका निर्वाह गर्ने ।’
बैठकले धर्मनिरपेक्षताको खारेजी तथा पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र स्थापनाको लागि हुने एजेण्डाप्रति प्रतिवद्ध राजनैतिक दल, समूह र संस्थाहरुसँग एकता गर्ने निर्णय गरेको छ ।
कांग्रेस नेता खुमबहादुर खड्काको अभियानले पनि हिन्दूराष्ट्र पुनर्स्थापनको माग राख्दै आन्दोलन घोषणा गरिसकेको छ ।
बैठकले काठमाडौंमा बृहत् सनातन धर्मसभा आयोजना गर्ने निर्णय गरेको छ । 
राप्रपा नेपालले संविधानसभामा अन्तर्वस्तुमा पर्याप्ट छलफल गर्न नदिएको भन्दै आपत्ति जनाएको छ । उसले नियमावली निलम्बन गर्ने, संविधान मिच्ने तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्ने काम भएको भन्दै खेद व्यक्त गरेको छ ।
राप्रपा नेपालले हिन्दुराष्ट्र वा धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था वा गणतन्त्र र स्थानिय स्वायत्त शासन वा संघीयता भन्नेबारे अन्तिम निर्णयसअघि जनमतसंग्रह गर्न ध्यानाकर्षण गराएको छ । ईकन्तिपुरमा समाचार छ ।