हिन्दूराष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा निकालेको र्‍यालीमा प्रहरी हस्तक्षेप

काठमाडौं  । नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै संयुक्त सनातन मोर्चाले सोमबार काठमाडौंमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
मोर्चाले काठमाडौंको माइतीघर मन्डलाबाट निकालेको र्‍याली नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिक पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो ।
र्‍यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम नगरी संविधान जारी गरिए मान्य नहुने चेतावनी दिए ।
मोर्चाले निकालेको र्‍यालीमा पानीमा भिजेरै भए पनि सर्वसाधारण सहभागी भएका थिए । प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि नयाँबानेश्वर क्षेत्रको सडक केही समय अवरुद्ध भएको थियो ।
मोर्चाले सोमबारै नयाँ संविधानमा हिन्दूराष्ट्र हुनुपर्ने माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । इमेजखबरमा समाचार छ ।