आए हुन्थ्यो ( गज़ल)

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
सधैँभरि तिमी मेरो चाहनामा आए हुन्थ्यो 
विपनामा नसके नि सपनामा आए हुन्थ्यो ll
एकै चिम्टी हाँसो मात्रै खोजेको हूँ परदेशमा 
निरन्तरको छट्पटी र वेदनामा आए हुन्थ्यो ll
कल्पनाका ज्वारभाटा उर्लेकाछन् छाल जस्तै 
पवित्र यो हृदयको भावनामा आए हुन्थ्यो ll
बसेको छु भोको प्यासो तड्पिएर रोजै यहाँ 
घरिघरि गिजोलेका तिर्सनामा आए हुन्थ्यो ll
चोखो माया भए पुग्छ लोभिन्न म ऐश्वर्यले 
गहकिलो मुस्कानले सिर्जनामा आए हुन्थ्यो ll
तिम्रो न्यानो समीपता खोजेको छ जिन्दगीले 
विशुद्ध यी वन्दना र साधनामा आए हुन्थ्यो ll