काठमाडौं । संविधानसभाबाट संविधानको प्रारम्भिक मस्यौदा पारित भएको छ ।
यही आषाढ १८ गतेदेखि मस्यौदामाथि सुरु भएको छलफल मंगलबार सकिएपछि उक्त मस्यौदा जनतामा लैजानका लागि राखिएको प्रस्ताव पारित भएको हो ।
मस्यौदामाथि जनमत संकलनको कार्य अघि बढाउन संविधानसभाअन्तर्गतको नागरिक समितिलाई मस्यौदा हस्तान्तरण गरिएको छ भने जनमतका लागि १५ दिनको समय दिइएको छ ।
त्यसअघि केही सभासदले नियमापत्ति गरेपछि अध्यक्ष नेम्वाङले आफ्ना फरक मतलाई संवैधानिक राजनीतिक समितिमा पठाउने व्यवस्था मिलाइएको छलफल गर्न आग्रह गरेका थिए ।
अब राजतन्त्रबारे बोल्न छाडिदिँउ : सिटौला
मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले विस्तृत शान्ति सम्झौताको मर्म र भावनअनुसार नयाँ संविधानको मस्यौदा जनतामा लानका लागि तयार भएको बताउँदै संघीयतासहितको संविधान आउनेमा सन्देह नगर्न आग्रह गरे ।
उनले सिंगो संविधानसभा र दलले मस्यौदा निर्माणका क्रममा सहयोग गरेको र छलफलमा प्राप्त सुझावलाई ग्रहण गरेर मस्यौदालाई परिमार्जन गरी उत्कृष्ट संविधान बन्ने विश्वास व्यक्त गरे ।
विश्वका लोकतान्त्रिक संविधान र नेपालका विभिन्न संविधानलाई पृष्ठभूमिका राखेर अगाडि जान सकिने र जनआन्दोलन र अन्तरिम संविधानले अघि सारेका अवधारणालाई पनि ध्यान दिइएको उनले स्पस्ट गरे ।
सिटौलाले गणतन्त्र वा संघीयतासम्बन्धी सवालमा जनमतसंग्रहमा जानुपर्छ भन्ने प्रस्ताव अहिले ल्याउनु असान्दर्भिक रहेको भन्दै ऐतिहासिक जनआन्दोलनले ल्याएको परिवर्तनलाई उल्टाउनेतर्फ कोही पनि जान नसक्ने बताए ।
जनताको सार्वभौमसत्ता बाहेक दुई तिहाइ बहुमतले भोलि पनि संविधानका धारा संशोधन गर्न सकिने सिटौलाले बताए ।