सरकारी निर्णयको विरोध गर्दै मुलुकभरका मेनपावर कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन्।
श्रम तथा रोजगार मन्त्रालयले केही मुलुकमा लागू गरेको निःशुल्क टिकट र भिसाको व्यवस्थाको विरोध गरिरहेका व्यवसायीले भिएनएन र बायोमेटिक प्रणाली खारेज नगरेसम्म सबै मेनपावरहरू अनिश्चितकालका लागि बन्द गरिएको नवनियसक्त मेनपावर व्यवसायी संघका अध्यक्ष बिमल ढकालले बताए। सेतोपाटीमा समाचार छ ।
सरकारले हचुवाका भरका एकतर्फी र बिनातयारी निर्णय लागू गर्दा नेपाल आउने कामदारको माग अन्य मुलुकतर्फ जान थालिसकेको भन्दै यसलाई उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गर्न व्यवसायीहरूले माग गरेका छन्।
मुलुकमा सञ्चालनमा आएका करिब ७ सय मेनपावर कम्पनी बन्द हुँदा हजारौ व्यक्ति प्रत्यक्ष प्रभावमा परेका छन्।
अध्यक्ष विमल ढकालले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले संसदीय समिति र प्रधानमन्त्रीको निर्देशनविपरीत कदम चालेकोले आन्दोलन गर्नुपरेको दाबी गरे। उनले भने, आजदेखि कुनै पनि मेनपावर कम्पनीबाट विदेश कामदार पठाउँदैनौं, मन्त्रीले व्यवसायीलाई निःशुल्क टिकट र भिसाविरोधी बनाएर प्रचार गरिरहे पनि आफूहरु शून्य लागतकै पक्षमा रहेको उनले दाबी गरे। अचानक निर्णय गर्दा परिणाम नराम्रो आउने र नेपालको अवसर अरुले लिने भएकाले तत्काल हुँदैन मात्र भनेका हौं, उनले भने। एउटा उच्च स्तरीय कार्यदल बनाएर त्यसको रिपोर्टको आधारमा काम गर्नुपर्ने उनले बताए।
मन्त्रीकै ‘ग्रान्ड डिजाइन’मा १० दिनपछि बायोमेटि्रक लागू हुन लागेको उनले बताए। कामदारलाई भार पर्ने क्रियाकलाप र सिन्डिकेट खारेज हुनुपर्ने माग आफूहरुको रहेको उनले बताए।
यो व्यवसाय बन्द हुँदा ट्राभल, इन्सुरेन्स कम्पनी, होटल तथा गेष्ट हाउस, एरलाईन्स, रेमिटेन्स लगायतको क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पर्ने भएको छ।
श्रम मन्त्रालयले यही असार २१ गतेदेखि मलेसियासहितका ६ खाडी मुलुकमा न्युनतम लागतमा कामदार पठाउने निर्णय गरिसकेको छ।
प्रधानमन्त्री सुशील कोइरालाले तत्कालका लागि त्यसलाई रोक्न निर्देशन दिएका थिए। अन्तत श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले ६ महिनादेखिको तयारी हो भन्दै यो नियम लागू गरेरै छोडे।