नेपाल विद्यार्थी संघका अध्यक्ष तथा संविधानसभाका सदस्यमाथि आक्रमण गरेको आरोपमा ११ जना विरुद्ध मुद्दा दायर

नेपाल विद्यार्थी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण गरेको आरोपमा संघकै नेता कुन्दन राज काफ्ले सहित ११ जना विरुद्ध मुद्दा दायर भएको छ।
 
विभिन्न कलेज भित्रको साङ्गठनिक विवादलाई लिएर कुन्दन राज काफ्ले र गगन थापाको टिमले आज बिहानै कर्णकै घरमा गई आक्रमण गरेको नेपाल विद्यार्थी संघका कार्यलय सचिव शिव लम्सालले सेतोपाटीलाई टेलिफोनमा बताए। आक्रमणकारी कुन्दन काफ्ले र नवराज त्रिपाठी लगायतका ११ जनालाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
 
मंगलबार बिहान हाँडीगाउँस्थित उनकै निवासमा हतियार बोकेको दशबाह्रजना जतिको समूहले सभासद् कर्णमाथि आक्रमण गरेका हुन्। उनीहरुले कर्णलाई कालोमोसो समेत दलेका थिए।
 
आक्रमणबाट कर्ण सामान्य घाइते भएका छन्। कर्णलाई बारम्बार संगठन भित्र पैसाको खेलमा कलेजको ईकाई गठन तथा भङ्ग गर्ने गरेको आरोप लाग्ने गरेको छ।
 
घटनाको बारेमा अध्यक्ष कर्णले पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिहरुले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएको आशङ्का गर्दै दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए। सेतोपाटीमा समाचार छ ।