खेल मैदानको माटो निकाल्ने विषयले उग्र रुप लिँदा नवलपरासीमा एक जनाको मृत्यु, पाँच जना घाइते

नवलपरासी । खेल मैदानको माटो निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न झगडाले उग्र रुप लिँदा बिहीबार नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवगाउँ-४ का ४५ वर्षीय सूर्यमन यादव रहेका छन् । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घटनामा संलग्न १४ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए ।
गाविसले ५० हजार रुपैयाँको लागतमा खेलकुद मैदान निर्माण गरेको थियो । खेलकुद मैदानबाट माटो ननिकाल्न सूर्यमनले अर्को पक्षलाई भनेपछि झगडा सुरु भएको थियो ।
त्यसपछि दुवै पक्षबाट ईटा हानाहान हुँदा सूर्यमनको मृत्यु भएको बताइएको छ ।
घटनामा गम्भीर घाइते भएकाहरुको भैरहवा र अन्य घाइतेहरुको पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।