लगातारको वर्षाले खोला बढेपछि मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्डमा सिधा यातायात अवरुद्ध बनेको छ।नरेठाँटीस्थित गौँदीखोला र भीमगिठे गाविसको भीमगिठे खोलामा पानीको सतह बढेपछि सवारी साधन वारपार गर्न सकेका छैनन् ।
पञ्चानब्बे किमीको उक्त सडकखण्ड पार गर्न ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता आइपरेको छ । बिहीबारदेखि सिधा यातायात सेवा रोकिएको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ । सो खण्डमा पर्ने खोलामा समयमै पुल बन्न नसक्दा वर्षा याममा सडक अवरुद्ध हुने गरेको छ । चार वर्षअघिदेखि निर्माण सुरु भएको गौँदीखोला पुल अहिले पनि अलपत्र अवस्थामा छ । भीमगिठेको पुल भने निर्माणकै क्रममा छ ।
गौँदीखोला आसपासको २० किमी सडक कालोपत्र भइसक्दा पनि पुल बन्न नसकेको समितिका उपाध्यक्ष होमबहादुर बस्नेतले बताए । सिधा यातायात सञ्चालन हुन दुई महिना बढी लाग्ने उपाध्यक्ष बस्नेतको भनाइ छ । “अब असोज लाग्दासम्मै सडक रोकिन्छ, वर्षायाममा यस्तो सास्ती खेप्नुपरेको वर्षौं भइसक्यो”, उपाध्यक्ष बस्नेतले भने, “पुल समयमै नबन्दा यो अवस्था आएको हो, पुल अझै अलपत्र छ ।”
यातायात चलाउन कुनै वैकल्पिक व्यवस्था नहुँदा खोलाको वारपार सवारी साधन रोकिएका छन् । यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्दा भाडासमेत महँगो पर्न गएको छ । गौँदी खोलामा पुलको जिम्मा लिएको निर्माण कम्पनी कामै नगरी फरार भएपछि मध्यपहाडी आयोजनाले नयाँ कम्पनीलाई जिम्मा दिएको थियो ।
गत जेठदेखि काम सुरु गर्ने जनाइए पनि नयाँ कम्पनीले पनि अझै काम सुरु गरेको छैन । बागलुङ