मस्यौदामाथिको कार्यक्रममा विरोध गरिरहेका मधेसवादी माथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा गरिएको तराई बन्दले जनजीवन प्रभावित, ठाउँठाउँमा झडप

राजविराज  – संविधानको पहिलो मस्यौदामाथि सोमबारको राय सुझाव संकलन कार्यक्रममा विरोध गरिरहेका मधेसवादी दलका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा ती दलले आव्हान गरेको मधेस बन्दका कारण आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ । ईकान्तिपुरमा समाचार छ । 
मोर्चामा सङ्घीय समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् ।
प्रदर्शनकारीहरुले बिहानैबाट प्रदर्शन गर्दै बजार तथा यातायातका साधनहरु बन्द गराउन थालेपछि जनजीवन प्रभावित भएको हो । सो क्रममा प्रहरी तथा प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
प्रदर्शनका कारण सप्तरी सदरमुकाम राजविराज लगायत भादह, कञ्चनपुर, कल्यानपुर, हनुमाननगर, रुपनी लगायतका बजारहरु पुर्णरुपले बन्द भएका छन् भने पूर्व-पश्चिम राजमार्ग समेत ठप्प भएको छ । सप्तरी खण्डमा आन्तरिक तथा बाह्य सवारी साधनहरु चल्न नसक्दा सर्वसाधरणलाई सास्ती भएको छ ।
सप्तरीको भारदह खण्डमा प्रदर्शनकारीहरुको एक समूहले बिहानैदेखि राजमार्गमा प्रदर्शन सहित ढंगामुढा तेर्स्याएपछि पूर्व तथा पश्चिमबाट आएका दर्जनौं यात्रुबाहक बस तथा मालबाहक ट्रकहरु रोकिएका छन् । यातायात खुलाउने प्रयास गर्दा प्रहरी तथा प्रदर्शनकारीहरुबीच पटक पटक झडप भएको छ । यातायात सुचारु गराउन  प्रहरीले थप बल मगाउने तयारी गरेको छ ।
सप्तरीको क्षेत्र नं २ को भारदहमा हिजो राय सुझाव संकलन कार्यक्रममा झडप हुँदा प्रहरीको लाठी चार्जबाट नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, संघीय समाजवादीका शैलेन्द्रप्रसाद साह, दिनेश यादव, वीरेन्द्र माझी लगायत एक दर्जन भन्दा बढी प्रदर्शनकारी तथा आधा दर्जन प्रहरी समेत घाइते भएका थिए ।
यसैगरी बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।
मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ ।
विराटनगरमा पनि मोर्चाको आह्वानमा आज बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेस बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ सङ्ख्यामा यात्रु अलपत्रमा परेका छन् । बिहानैदेखि बसपार्कमा आएका यात्रु अचानक सवारीसाधन ठप्प भएपछि अलपत्रमा परेका हुन् ।
मोर्चाकै मधेस बन्दका कारण आज सिरहाको जनजीवन प्रभावित बनेको छ ।
बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैन । यहाँका बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छ । एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, र अन्य अत्याश्यक सवारीसाधन भने चल्न दिएको सङ्घीय समाजवादी फोरम नेपालका युवा नेता विजय यादवले जानकारी दिए ।
बन्दका कारण लहानमा सयौँ ठूला सवारीसाधन जाममा फसेका छन् । यात्रु अलपत्र परेका छन् ।
यसैगरी, संविधान मस्यौदाको विरोध गर्दै संघीय सदभावना पार्टीकी सहअध्यक्ष सरीता गिरी नेतृत्व टोलीले मंगलवार सिरहाको लहानमा जुलुस प्रदर्शन गरेको ईकान्तिपुरकर्मी भरत जर्घामगरले जानकारी दिए । 
यसैगरी, सहअध्यक्ष गिरीसहितको टोलीको जुलुसले लहान बजार परिक्रमा गरी मस्यौदाको विरोध गरेको हो ।  मस्यौदामाथि सुझाव संकलन केन्द्र लहानस्थित मारवाडी सेवा सदनमा अवरोध पुर्‍याउन जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ । 
यता, संविधानको मस्यौदामाथि पहिलो दिनको सुझाव संकलन कार्यक्रममा मधेसवादी दलका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा मधेसवादी दलसम्मिलित मोर्चाका कार्यकर्ताहरुले मंगलवार आव्हान गरेको बन्दका कारण सिरहाको लहान, मिर्चैया, गोलबजार लगायतका जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, बजार, कलकारखाना उधोग पूर्णरुपमा बन्द छन् ।
महाेत्तरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरको बन्दका कारण मंगलबार महोत्तरीको जनजीवन बिहानैबाट प्रभावित छ । मोर्चाले संविधानको मस्यौदा संकलनको विरोध गर्दा सुरक्षाकर्मीले दमन गरेको भन्दै महोत्तरीलगायत तराई बन्द गरेको जनाएका छन् ।
पूर्व सभासद कौशल यादवको नेतृत्वमा निस्केको मोर्चा आवद्ध कार्यकर्ताले बिहानैदेखि जलेश्वरमा प्रदर्शन जारी राखेको छ । उनीहरुले पसल बजार बन्द गराउनुका साथै यातायात ठप्प पारेपछि जनजीवन कष्टकर  बनेको छ । सार्वजनिक यातायात नचल्नाले मुलुकका विभिन्न भागमा जान लागेका यात्री अलपत्र परेका छन् । अलपत्र पर्नेमा भारतीय यात्रीको संख्या उल्लेख्य छ । 
बन्दकर्ताले वीरगंजबाट कवाडा बोकेर भिट्ठामोडतर्फ जान लागेको ना५ख ८४१३ नंको ट्रकलाई अहिले बिहान नियन्त्रणमा लिई भिट्ठामोड