काठमाडौ – महाभूकम्पले पूर्ण रुपमा ध्वस्त भएको धरहरा पुनर्निर्माण गर्न पुरातत्व विभागले सरकारसंग ३० करोड रुपैयाँ माग गरेको छ । वि.सं. १८८२ मा महारानी ललितत्रिपुरा सुन्दरीदेवीले निर्माण गराएको धरहरा गत बैशाख १२ गते आएको विनासकारी भूकम्पले दोस्रो पटक पूर्ण रुपमा ध्वस्त भएको छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ५ वर्ष भित्र पुनर्निर्माणको लक्ष्य लिएर सरकारसँग बजेट माग गरिएको बताए ।
अनुमानित ३० करोड लागत रकममध्ये प्रत्येक वर्ष ६ करोड रुपैयाँका सरकारले उपलब्ध गराउनुपर्ने उनले उल्लेख गरे । ‘रकम प्राप्त हुनासाथ पुनर्निमाणको काम सुरु हुनेछ’ कुँवरले भने ।
महारानी ललित त्रिपुरासुन्दरीले वि.सं. १८८२ मा बनाउन लगाएको धरहरा ९० हात अग्लो र ११ तलाको थियो । पछि वि.सं. १९९० सालको महाभूकम्पले क्षतिग्रस्त उक्त धरहहरा श्री ३ जुद्धले पुनर्निर्माण गराउँदा ९ तल्ला मात्र राखिएको थियो ।
अव पुननिर्माण गर्दा वि.सं. १९९० अघि कै ११ तल्ला राख्ने वा ९ तल्ला र बनाउने भन्ने वारे पनि छलफल भईरहेको कुँवरले बताए । ‘अब बनाइने धरहरा पहिलेको भन्दा बलियो र भूकम्प प्रतिरोध बनाउन भूगर्भविद् लगायतका विशेषज्ञहरुसंग छलफल हुँदैछ’ उनले थपे । ईकन्तिपुरमा समाचार छ ।