संविधानको प्रारम्भिक मस्यौदामाथि जनमत बुझेर फर्किएका सभासदहरुले पार्टी नेतृत्वलाई आफ्नो एजेण्डा कार्यान्वयन गर्ने उपयुक्त बेला आएको भन्दै कांग्रेसलाई सहमतिमा ल्याउन सुझाव दिएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक साउन १० गतेदेखि बस्दैछ । पार्टीको घोषणापत्रमा उल्लेखित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा जनमत सिर्जना भएका बेला बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले यो विषय बलियो ढंगले उठाउने तयारी गरेका छन् ।
जनताको अभिमत बुझेर काठमाडौं फर्किंदै गरेका दोलखा-१ का सभासद तथा केन्द्रीय सदस्य पार्वत गुरुङले भने-जनताले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म आफैंले प्रत्यक्ष मत दिएर जिताउन पाउनुपर्छ भनेका छन्,जनमतको सम्मान गर्ने हो भने त्यसमा जानैपर्छ । अब यो विषय हाम्रो केन्द्रीय कमिटी बैठकमा उठ्छ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा एमालेको भएकाले यसलाई कार्यान्वयन गर्न पार्टी नेतृत्वले निर्णायक पहल लिनुपर्ने बेला आएको अर्का सभासद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।



