काठमाडौं, श्रावण ७ । संविधानसभाअन्तर्गतको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले संविधानको प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम गरिरहेको छ ।
संकलित सुझाव केही जिल्लाबाट आउन बाँकी रहेको र आएका सुझावलाई एकीकृत गर्ने काम समितिले जारी राखेको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले काम छिटो सक्न समितिलाई निर्देशन दिइसकेका छन् ।
समितिकी सभापति प्रमिला राणाले शनिबारसम्म संविधानसभामा प्रतिवेदन बुझाउने गरी काम भइरहेको बताए । यसअघि, समितिलाई प्रतिवेदन बुझाउन विहीबार (आज)सम्मको समय दिइएको थियो । तर, सुझाव धेरै आएकाले विहीबारसम्म प्रतिवेदन बुझाउन नसक्ने समितिले जनाएको छ ।
नागरिकले दिएका सुझावलाई सहमति, असहमति र नयाँ विषय गरेर वर्गीकरण गर्ने तयारी छ । यसरी वर्गीकरण गरेर सकेपछि प्रतिवेदन संविधानसभालाई बुझाउने समितिले जनाएको छ ।
गत सोमबार र मंगलबार देशव्यापी अभियान गरेर संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकका सुझाव संकलन गरिएको थियो । संकलित अधिकांश सुझावमा राष्ट्रपति या प्रधानमन्त्री जे भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने, धार्मिक स्वतन्त्रता हुनुपर्ने, प्रदेशको संख्या ५ भन्दा बढी बनाउन नहुने, प्रदेशको सीमांकन र नामांकन टुंगो लगाउनुपर्ने, सभासद र मन्त्री बन्न न्यूनतम योग्यता तोक्नुपर्नेलगायतका छन् । इमेजखबरमा समाचार छ ।