मसाल र एकताकेन्द्रबीच पार्टी एकीकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र)बीच बिहीवार पार्टी एकीकरण भएको छ । मसालको तर्फबाट महामन्त्री मोहनविक्रम सिंह र एकीकृतको तर्फबाट केन्द्रीय सदस्य मदनसेन बडायक र राष्ट्रिय परिषद्का सदस्य हुकुम साउदबीच पार्टी एकता गर्ने निर्णय भएको हो ।
मसालको तर्फबाट महामन्त्री मोहनबिक्रम सिंह र नेकपा (एकीकृत) का सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा कार्यरत पार्टी कमिटीहरुको तर्फबाट केन्द्रीय सदस्य मदनसेन बडायक र राष्ट्रिय परिषद् सदस्य हुकुम साउदले पार्टी एकीकरण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । संयुक्त विज्ञप्तिमा एकीकृतको विभिन्न तहमा बसेर काम गरिरहेको भए तापनि देशको परिस्थितिअनुसार हामी कार्यरत पार्टीले सही नीति अपनाउन नसकेकाले कम्युनिष्ट आन्दोलन र जनतान्त्रिक आन्दोलनसहित देशको राजनीतिमा धेरै क्षति पुगेको उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ,  नेकपा मसालको राजनीति र अडान सही भएको निष्कर्ष निकाल्दै हामीले नेकपा मसालसित एकता गर्ने निर्णय गरेका छौं । 
विज्ञप्तिमा अगाडि भनिएको छ,  आउने दिनहरुमा नेकपा (मसाल)को कार्यक्रममा सामेल भई कम्युनिष्ट आन्दोलन र देशको जनतान्त्रिक आन्दोलनलाई समेत सशक्त प्रकारले अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ ।  नेकपा (मसाल)ले पनि एकता प्रक्रियामा आउने सबैलाई सम्मानपूर्वक स्वागत गर्दै भनेको छ,  उहाँहरुसँगको पार्टी एकताले नेपालको कम्युनिष्ट आन्दोलन र देशको जनतान्त्रिक आन्दोलनलाई समेत मद्दत पुग्ने विश्वास प्रकट गर्दछ ।