सप्तरी, श्रावण ९ । श्रावणको पहिलो साता वितिसक्दासमेत वर्षा नहुँदा तराईका अधिकांश जिल्लामा धेरै जमिन बाँझै रहेको छ । सप्तरीमा त ९० प्रतिशत खेत बाँझो छ ।
श्रावण १५ सम्म रोपाइँ गर्न सके उत्तम हुने भए पनि समयमा वर्षा नहुँदा अहिलेसम्म जिल्लाको ९० प्रतिशत खेत बाँझै रहेको हो । जिल्लाको मौवाहा, बेल्ही, औरही, भुतही, तरही, पातो, अर्नाहा, रामपुर जमुवा, हरिपुरलगायतका गाविसका ९० प्रतिशतभन्दा बढी धान खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
पानीको अभावले धानको बीऊ ब्याडमै सुक्न थालेको र रोपिएको धानसमेत डढ्न थालेको छ । सानो पम्पिङ सेटबाट डिजल बढी खपत हुने र सिँचाइ कम हुँदा लागत पनि उठाउन धौधौ पर्ने किसानहरुको दुःखेसो छ । कृषि विकास कार्यालय सप्तरीका अनुसार जिल्लामा सिंचित ४० हजार र असिंचित ३० हजार हेक्टर गरी कुल ७० हजार हेक्टरमा धान लगाइने गरिएको छ ।
यसवर्ष आषाढ मसान्तसम्म पाँच हजार हेक्टरमा मात्र रोपाइँ भएको बाली संरक्षण अधिकृत विद्या सागर यादवले जानकारी दिए ।
पर्याप्त वर्षा नहुँदा सप्तरीबाहेक मध्य तराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा र पर्सामासमेत पूर्णरुपमा धान रोपाइँ हुन सकेको छैन । वर्षाकै कारण पश्चिम तराईका रुपन्देही, दाङ, बाँके र बर्दियाको अवस्था पनि उस्तै रहेको सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरुले जनाएका छन् ।
यी जिल्लाहरुमा रोपिएको धानको बोट पानी अभावसँगै खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । इमेजखबरमा समाचार छ ।