काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई समेत समेटेर संविधान जारी गर्ने बताएका छन् ।
रिपोर्टस् क्लबले शनिबार बालुवाटार पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री कोइरालाले असन्तुष्ट दलहरुसँग छलफल भइरहेको जानकारी दिए ।
उनले चार दलबीच श्रावणभित्रै संविधान जारी गर्ने सहमति भइसकेकाले अब असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर संविधान जारी गर्ने बताएका हुन् । उनले दुई/चारदिन तलमाथि भए पनि संविधान जारी गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
प्रधानमन्त्री कोइरालाले आगामी संविधान सबैलाई मान्य हुने जिकिर गरे । उनले संविधानमा सबै समुदाय, जाति, भाषा, संस्कृतिको पहिचान स्थापित हुने भन्दै अनावश्यक हल्ला नफैलाउन आग्रह पनि गरे ।