धर्म निरपेक्षता शब्दावली नसुहाएकोले अर्कै शब्द प्रयोग गरेर संविधान जारी गर्ने एमाओवादी दाहालको भनाई

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धर्म निरपेक्षता शब्दावली नसुहाएको बताएका छन्। उनले यसको सट्टा अर्कै शब्द प्रयोग गरेर संविधान जारी गर्ने बताए। दाहाल निवास लाजिम्पाटमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै धर्म निरपेक्षता शब्दले जनता आक्रोशित बनेको र उनीहरुको भावनामा ठेस पुगेकाले यसको सट्टा अर्कै शब्द प्रयोग गर्ने बताए।
‘धर्म निरपेक्षतामा जनताहरु आक्रोशित बनेको देखियो। उनीहरुको जनभावनामा ठेस पुगेको महसुस भयो,’ दाहालले भने, ‘त्यसैले यो शब्दको सट्टा अरु नै कुनै शब्द प्रयोग गरेर संविधान जारी हुन्छ।’
संविधानको प्रारम्भिक मस्यौदामा धर्म निरपेक्षता भन्ने शब्द राखिएपछि जनताहरु आक्रशित बनेको थियो। गत साउन ४ र ५ गते जनतासँग सुझाव संकलनमा गएका सभासद्हरुलाई जनताले यसमा विरोध जनाएका थिए। 
नेकपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि धार्मिक स्वतन्त्रता राख्ने बताएका थिए। त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सर्वधर्म र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गचेछदारले धार्मिक स्वतन्त्रता राख्ने पक्षमा छन्।
एमाओवादी अध्यक्ष दाहालले पनि पहिलोपटक आफ्नो धारणा राख्दै धर्म निरपेक्षता हटाएर अर्को कुनै शब्द प्रयोग गर्ने बताएका हुन्।
त्यस्तै उनले पार्टीको अडान कार्यकारीमै रहेको बताए। तर संविधान निर्माण प्रकृयामा यसले कुनै असर नगर्ने उनले स्पष्ट पारे। ‘पार्टीको धारणा अझै कार्यकारीमै छ। त्यही अडानमा बसेर संविधान निर्माण जारी हुन्छ। यसले कुनै बाधाअडचन गर्दैन,’ उनले भने।
उनले संविधानमा थ्रेसहोल्ड कायमै रहने र वडाअध्यक्ष निर्वाचित हुनेसमेत बताए। नागरिकन्युजमा समाचार छ ।