काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बाढी पहिरोबाट विभिन्न जिल्लामा ९० जनाको मृत्यु, ३८ बेपत्ता र ४८ जना घाइते भएको जानकारी दिएका छन् ।
आइतबार संसद बैठकमा मन्त्री गौतमले कास्की, ताप्लेजुङ्ग, म्याग्दी र रोल्पामा पहिरोबाट १ सय १७ घर पूर्ण रुपमा र १ सय २२ घरमा आंशिक क्षति पुगेको जानकारी दिए ।
सरकारले मृतकका परिवारलाई जनही ४० हजार रुपैयाँ, घाइतेहरुको निःशुल्क उपचार र ३१ परिवारलाई पुनर्स्थापना गरेको पनि मन्त्री गौतमले बताए ।
यस्तै, पहिरोले ५ वटा झोलुङे पुल बगाएको, ३ सय ६३ चौपाया मरेको, एक-एक वटा विद्यालय र मन्दिरमा क्षति पुगेको र २ सय ८६ घर उच्च जोखिमा परेको पनि गृह मन्त्रालयले जनाएको छ ।
गत शुक्रबारको संसद बैठकमा सांसदहरुले बाढी पहिरो पीडितलाई उद्दार तथा राहतबारे सरकारको धारणा माग गरेपछि सभामुख सुवास नेम्वाङले सो विषयमा संसदलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका थिए । इमेजखबरमा समाचार छ ।