बाग्लुङ । पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै उत्पीडित दलित समुदायले बुधबार बाग्लुङ बजार बन्द आह्वान गरेका छन् ।
बन्दका कारण बाग्लुङ बजार सुनसान भएको छ भने शैक्षिक संस्था, उद्योग, कलकारखाना ठप्प छन् । बन्दको प्रभाव यातायात क्षेत्रमा समेत देखिएको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । बन्द आह्वानकर्ताले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।
सरकारी वकिल कार्यालयका कर्मचारी कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका दलित नगर सञ्जालका अध्यक्ष राजकुमार बोसेलको रिहाईको माग गर्दै दलित समुदायले बन्द आह्वान गरेका हुन् ।
नयाँ संविधानमा दलितको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै दलित समुदायले मंगलबार गरेको चक्का जामको क्रममा मोटरसाइकल चलाएको भन्दै सरकारी वकिल कार्यालय बाग्लुङमा कार्यरत गणेश शर्मालाई कुटपिट गरेको आरोपमा बोसेल पक्राउ परेका थिए । इमेजखबरमा समाचार छ ।