काठमाडौंमा हैजा, तीन-चार वर्षयताकै कडा रहेको विशेषज्ञहरूको दाबी

काठमाडौं, श्रावण २१ – राजधानी काठमाडौंमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको हो । यस पटकको हैजा तीन-चार वर्षयताकै कडा रहेको विशेषज्ञहरूको दाबी छ । कान्तिपुर दैनिकमा समाचार छ । 
अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला भनिन्छ । पखालामा ब्याक्टेरियम भिब्रियो कोलेरी नामक जीवाणु देखियो भने त्यो हैजा हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाको बेलामा उपचार भएन भने बिरामीको मृत्युसम्म हुन सक्छ ।  राजधानीमा डेढ दशकयता बर्सेनि वर्षायाममा हैजा देखिँदै आएको छ । टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् ।