विशेष समितिले शनिबार राति कायम गरेको सिमांकन अनुसार नयाँ प्रदेश निर्माणका क्रममा बागलुङसहित तीन वटा जिल्ला टुक्रिएका छन्। बाग्लुङ, नवलपरासी र रुकुम टुक्राएर प्रदेश निर्माण गरिने सहमति भएको थियो।
यसैबीच बागलुङ टुक्राएको भन्दै आइतबार जिल्ला बन्दको आयोजना गरिएको छ।
बाग्लुङ बन्द भएपछि मुख्य बजारमा गाडी चलेका छैनन्, पसल बन्द छन्। नयाँ सिमाकंन अनुसार बाग्लुङ बजार प्रदेश नं ४ मा पर्नेछ भने ढोर पाटन र बुर्तिबाङ प्रदेश ५ मा पर्नेछ। ढोरपाटन विनाको बाग्लुङ जिल्ला हुन नसक्ने भन्दै यो विभाजनको विरोध गरिएको छ।
यसैबीच धवलागिरी अञ्चलका १४ जनै सभासदहरूले बागलुङ टुक्राउन पाइन्न भन्दै विरोध जनाएका छन्। अञ्चलका १३ जना सभासदहरूले हस्ताक्षर गरेर समितिका सभापति बाबुराम भट्टराईलाई विरोध पत्र बुझाउँदैछन्। सेतोपाटीमा समाचार छ ।
नवलपरासीमा खुशी
यता नवलपरासीमा भने जिल्ला विभाजनलाई लिएर खुशी व्यक्त गरिएको छ । खासगरी दाउन्ने पूर्वको क्षेत्रमा खुशी मनाइएको छ ।
नवलपुर र परासी जोडेर नवलपरासी बनाइएको यो जिल्ला टुक्राउनु पर्ने माग पहिलेदेखि नै गरिदै आइएको थियो । नयाँ सिमाकंन अनुसार दाउन्ने पूर्वको नवलपुर क्षेत्र प्रदेश ४ मा पर्नेछ भने परासी क्षेत्र प्रदेश ५ मा पर्नेछ । यो विभाजनले नवलपरासीका पूर्वी पहाडी क्षेत्रका करिब २ लाख बासिन्दाले सदरमुकाम परासी पुग्न २ दिन हिँड्नु पर्ने बाध्यता थियो । अब त्यो हट्ने आश गरिएको छ । ईकन्तिपुरमा समाचार छ ।