राष्ट्रवादी नेताका रुपमा परिचित राजेश्वर देवकोटाको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधन भएको छ ।
राष्ट्रवादी नेताका रुपमा परिचित ८६ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार(आज) काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय निमोनियाबाट पीडित थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा कमलादीस्थित प्रज्ञा भवनमा राखिने भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
गोरखामा जन्मिएका देवकोटाले २००४ सालको जयतु संस्कृतम् आन्दोलनमार्फत् राजनीति सुरु गरेका थिए । जयतु संस्कृतिम् आन्दोलनमा लागेका कारण उनलाई तत्कालिन सरकारले देश निकाला गरेको थियो ।
२००७ सालसम्म उनले राणा शासनविरुद्ध गोरखाबाट नेतृत्व गरेका थिए । उनी राष्ट्रिय पञ्चायतको अध्यक्ष, सांसद् र मन्त्रीसमेत बने । स्वर्गीय देवकोटाले साहित्यमा पनि ठूलो योगदान दिएका थिए ।
उनले थुप्रै उपन्यास, कविता, निबन्ध लेख्नुभएको थियो । उत्सर्ग प्रेम नामक उपन्यास विधानको ग्रन्थका लागि देवाकोटाले २०४४ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । विश्वास नामक उपन्यास उनको पछिल्लो कृति हो । इमेजखबरमा समाचार छ ।