सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा स्थानीय प्रशासनले मंगलबार पनि कर्फ्यु आदेश जारी गरेको छ ।
सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै मंगलबार साँझ साढे ६ बजेदेखि राति ९ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । वीरेन्द्रनगर नगर क्षेत्रमा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
मंगलबार दिउँसो सुर्खेतको मंगलगढीमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो ।
मध्यपश्चिमलाई अखन्ड राख्नुपर्ने र छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनमा मंगलबारदेखि उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघका साथै राजनीतिक दलहरुसमेत सहभागी भएका छन् ।
मध्यपश्चिाञ्चलका १५ ओटै जिल्लामा एकसाथ आन्दोलन चर्काउन उद्योग वाणिज्य महासंघको नेतृत्वमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ ।
सुर्खेतमा आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले सरकारी कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले अर्को सूचना जारी नभएसम्मका लागि सरकारी कार्यालय क्षेत्रभित्र सभा, सम्मेलन, भेला, नाराजुलुसलगायतका कार्यमा रोक लगाइएको बताए । – इमेजखबरमा समाचार छ ।