देश टुक्र्याउने खालका अभिव्यक्ति दिने सांसदको आरोपसहित अडियो टेप संसद्लाई उपलब्ध

काठमाडौं, श्रावण ३२ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले केही सांसदहरुले नै क्षेत्रीय द्वन्द्व र सामाजिक सदभाव भड्काउने काम गरेको आरोपसहित अडियो टेप संसद्लाई उपलब्ध गराएका छन् । उनले देश टुक्र्याउने खालका अभिव्यक्ति दिने सांसदहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा गृहमन्त्री गौतमले संघीयताको सीमांकनका विषयमा आवेशमा आएर सांसदहरुले सद्भाव भड्काइरहेकाले सरकारको ध्यानाकर्षण भएको भन्दै संसद्मा अडियो टेप पेश गरेका हुन् ।
संघीय समाजवादी फोरमका सांसद उपेन्द्र यादव, नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहसहितले पश्चिम तराईमा गरेको भाषण विवादास्पद भई जनस्तरबाट विरोध भएको थियो ।
गृहमन्त्रीले टेप उपलब्ध गराएलगत्तै सभामुख सुवासचन्द्र नेम्वाङले अडियो टेपबारे आवश्यक छानबिन र अनुगमन गर्न संसद्को सम्बन्धित समितिलाई निर्देशन दिएका छन् ।
संसदको शून्य समयमा एमाले सांसद गरिमा शाहलगायतले पनि सांसद सिंहको अभिब्यक्तिप्रति आपत्ति जनाएका थिए ।
त्यस्तै, अखण्ड मध्यपश्चिमको आन्दोलनका क्रममा सुर्खेतमा निधन भएका ब्यक्तिका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आन्दोलनका क्रममा सरकारले व्यवस्था गरेको शान्ति सुरक्षाको अवस्थाबारे संसद् बैठकलाई जानकारी दिँदै गृहमन्त्री गौतमले घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था सरकारले नै गरेको बताए ।
उनले आन्दोलनका क्रममा सरकारी, सामुदायिक र निजी सम्पत्तिमा क्षति पुर्‍याएकाले प्रहरीले शान्ति सुरक्षा कायम गर्न न्यूनतम् बल प्रयोग गरेको जिकीर गरे ।
बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलराज गिरीले गृहमन्त्रीको अभिब्यक्ति मनगढन्ते भएको भन्दै आपत्ति जनाए ।
त्यसैगरी सांसदहरु ललितजंग शाही र प्रेमबहादुर सिंहले कर्णाली आन्दोलनमा सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका थिए ।
सांसदहरु लालबाबु रावत, कल्पना चौधरी र अकवाल अहमद साह र लालबाबु रावतले तराई र मधेशको माग सम्बोधन गर्न छाडेर आन्दोलन दबाउन सरकार अग्रसर देखिएको भन्दै आन्दोलनमा सुरक्षा निकायले ज्यादती गरेको आरोप लगाएका थिए ।
संसदको आजको बैठकमा विनियोजन विधेयक, २०७२ को श्रम तथा रोजगार, उद्योग, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति र महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्रालयका विभिन्न शीर्षकहरुमा छलफल भइरहेको छ । इमेजखबरमा समाचार छ ।