जुम्ला । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्ररुप लिएसँगै मंगलबार पनि कर्फ्यु जारी रहेको छ ।
गत आइतबार साँझदेखि लगातार लगाइँदै आइएको कर्फ्यु आदेश मंगलबार पनि जारी रहेको हो । मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टाका लागि हटाएर पुनः कर्फ्यु लगाइएको हो ।
मंगलबार कर्फ्युको अवेज्ञा गर्दै स्थानीयले प्रदर्शन गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा १० प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएको जनाइएको छ ।
अपरान्ह निषेधित क्षेत्र तोड्न खोज्ने आन्दोलनकारीलाई सम्झाउन गएका अञ्चल प्रहरी कार्यालय कर्णालीका डीएसपी रामभक्त घर्तीमाथि आक्रमण भएको छ ।
चन्दननाथ -१ दानसाँघुमा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सम्झाउनेक्रममा आन्दोलनकारीले डीएसपीमाथि घर्तीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट डीएसपी घर्ती घाइते भएका छन् ।
खलंगा बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले दिनहुँ कर्फ्यु तोड्नेदेखि हुलदंगा गर्ने र सरकारी भौतिक संरचनामा आगजनी गर्ने कार्य गरिरहेकोले कर्फ्यु फिर्ता लिन नसकिने प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए । इमेजखबरमा समाचार छ ।