काठमाडौ, भाद्र १ – संविधानसभाले संविधानको विधेयक तयार पार्न मस्यौदा समितिलाई थप ४ दिनको समय दिएको छ ।
संविधानसभामा बोल्दै समिति सभापति कृष्ण सिटौलाले दलहरुको सहमति बिना विधेयक तयार पार्न नसकिने भएको र दलका नेताहरु सहमति जुटाउन अनवरत प्रयास गरिरहेकाले समय थपको माग गरेका थिए । उनको माग अनुसार संविधानसभाले समय थपेको हो । संविधानसभाको बैठक ५ मिनेट बसेर सकिएको हो । यसअघि संविधानको विधेयक तयार पार्न संविधानसभाले मस्यौदा समितिलाई दिएको पाँच दिनको समयसीमा सोमबार सकिएको थियो । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले जारी जारी व्यवस्थापिका संसदलाई सूचना दिएर अाज साँझ ५ बजे बोलाएका थिए ।
मस्यौदा समितिले निर्धारित अवधिमा समितिले आफ्नो प्रतिवेदन संविधानसभामा बुझाउन नसकेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
प्रमुख दलका शीर्ष नेताहरुले प्रदेशको सिमांकनमा पुनरावलोकन, थ्रेस होल्ड लगायतका विषयमा सहमति जुटाउन नसक्दा मस्यौदा समितिले आफ्नो प्रतिवेदनलाई आन्तिम रुप दिन नसकेको हो । सोमबार दिनभरजसो बैठक बसेका शीर्ष नेताहरु मंगलबार अपरान्ह ४ बजेतिर मात्र छलफलमा बसेका छन् । इमेजखबरमा समाचार छ ।