काठमाडौं- विनाशकारी भूकम्पपछि सरकारले पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेको छ। यसपालि शरद ऋतुका लागि सगरमाथा आरोहण अनुमति खुला गरिएको हो।
सगरमाथा शिखर। फाइल तस्विर: नागरिकन्युज
गत वैशाख १२ मा गएको भूकम्पका कारण सगरमाथामा पहिरो जाँदा डेढ दर्जन आरोहीले ज्यान गुमाएका थिए।
त्यसपछि वसन्त ऋतु (चैतदेखि जेठ) सम्म हुनुपर्ने आरोहण स्थगित भएको थियो । सगरथा शिखर चुम्न आएका संसारभरका सयौं आरोहीले सहधर्मीको नाममा आरोहण स्थगित गरेका थिए । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उत्तम याम मानिन्छ ।
शरद ऋतुमा आरोहण गर्न कठिन हुने भएका कारण यो याममा आरोहीले सगरमाथा जान त्यत्ति रुचि दिँदैनन् । तर, भूकम्पका कारण रोकिएको आरोहण अहिले शरदमा आएर पुनः हुन लागेको हो ।
यसपालि शरदमा सगरमाथा शिखर जाने पहिलो आरोहीको अनुमति जापानका नोबुकाजु कुरिकीले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री कृपासुर शेर्पाले कुरिकीलाई सगरमाथा आरोहण अनुमतिपत्र प्रदान गरे ।