संघीयताको प्रस्ताविक सीमांकनको विरोधमा देशभर प्रदर्शन र झडप, टीकापुरमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु, दर्जनौं घाइते

संघीयताको प्रस्ताविक सीमांकनको विरोधमा देशभर प्रदर्शन र झडप भए । 
कैलालीको टीकापुरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको पुष्टि भएको छ ।
थरुहट संघर्ष समितिको आह्वानमा निषेधित क्षेत्र तोड्न खोज्दा भएको झडपमा अन्य दर्जनौं घाइते छन् ।
त्यस्तै, नेपालगञ्जमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडप हुन थालेपछि प्रशासनले सोमबार बेलुकी ९ बजेदेखि बिहान ९ बजेसम्म अर्को आदेश नहुँदासम्मको लागि कर्फ्यू लगाइएको छ ।
प्रदर्शन र झडप भएका जिल्लाहरु कैलाली, सर्लाही र रौतहटलाई सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
सोमबार साँझ मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा विराटनगरको महाबीर र गुदरी चोक तनावग्रस्त बन्यो ।
त्यस्तै, मधेसी मोर्चाले सर्लाहीको मलंगवामा लाठी र घरेलु हतियारसहित जुलुस प्रदर्शन गरेका छन् । ईकान्तिपुरमा समाचार छ ।