टिकापुरमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको अन्तिम संस्कार
सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीसँगको झडपमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको मंगलबार दिउँसो आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
हिजो टिकापुरबाट धनगढी ल्याइएको न्यौपानेको शव धनगढीमाबाट सेनाको हेलिकप्टरमा राजधानी ल्याइएको हो।
विमानस्थलबाट न्यौपानेको शव महानगरीय प्रहरी वृत्त गौशालामा राखेर श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि उनको शवलाई पशुपति आर्यघाटसम्म शव यात्रा गरेर अन्तिम संस्कार गरिएको हो। उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोशराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट गई स्व. न्यौपानेको पार्थिव शरीरमा फुलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।
सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अन्य प्रहरी कर्मचारीहरु, मृतकका परिवार एवं आफन्तजनलेसमेत न्यौपानेको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए।
पशुपति आर्यघाटमा आफन्तले न्यौपानेको शवलाई फूलमाला चढाएपछि नेपाल प्रहरीको टुकुडी अन्तिम सलामी दिएको थियो। सेतोपाटीमा समाचार छ ।
कैलालीमा नयाँ सुरक्षा रणनीति तय, सबै सुरक्षा संयन्त्रहरुबीच समन्वय गरी अघि बढ्ने निर्णय
कैलाली । धनगढीमा जिल्लास्थित सुरक्षा अधिकारीहरुको बैठकले कैलालीको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै नयाँ सुरक्षा रणनीति तय गरेको छ ।
मंगलबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले समग्र अवस्थाको जायजा लिइ सबै सुरक्षा संयन्त्रहरुबीच समन्वय गरी अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले धनगढीमा मंगलबार साँझ ७ बजेदेखि कर्फ्यु हटाएउने र बुधबार बिहानदेखि कर्फ्यु लगाउने निर्णय पनि गरेको छ ।
बैठकमा मंगलबारै मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका मोहन चापागाइँ, नेपाल प्रहरीका नयाँ डीआइजी माधव नेपाल, सशस्त्र प्रहरीका नयाँ डीआइजी सुरज श्रेष्ठ र एसएसपी दिनेश अमात्यलगायत सहभागी थिए ।
यसैबीच, प्रहरीले सोमबार टीकापुरको घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । इमेजखबरमा समाचार छ ।