प्रमुख दलका शीर्ष नेताहरुद्धारा संविधान निर्माण नरोक्ने प्रतिबद्धता

काठमाडौं  ।  प्रमुख दलका शीर्ष नेताहरुले संविधानको विधेयकमा देखिएका असन्तुष्टि छलफलबाटै समाधान गर्न सकिने भन्दै वार्तामा आउन असन्तुष्ट पक्षहरुलाई आग्रह गरेका छन् ।
संविधानको विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन आह्वान गरे ।
उनले संविधान निर्माण प्रक्रिया भने नरोकिने भन्दै आफ्ना जायज माग शालिनतापूर्वक राख्न सभासदहरुलाई आग्रह गरे । संविधान सम्झौताको दस्तावेज हुने भएकाले संविधान जारी भए पनि परिमार्जन गर्दै अगाडि बढ्न सकिने उनको भनाइ थियो ।
प्रधानमन्त्री कोइरालाले कैलालीलगायतका केही ठाउँमा नसोचेको दुर्घटना भएको भन्दै दुःख व्यक्त गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको विधेयकलाई लिएर केही ठाउँमा संविधान निर्माण प्रक्रिया बिथोल्ने, सामाजिक सद्भाव खल्बल्याउने र विध्वंस मच्चाउने प्रयास भएकोमा दुःख व्यक्त गरे ।
उनले जातीय र साम्प्रदायिकता भड्काउन खोज्नेहरुसँग सचेत रहन आग्रह गर्दै संविधानको विधेयकमा कमजोरी भए संशोधन राख्न सकिने बताए । संविधान सम्झौतासहितको दस्तावेज हुने भएकाले सबैका कुरा सामेल गर्न नसकिने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले असहमतिका विषयमा संवाद गर्न सकिने तर हतियारको भाषा बोल्नेहरुसँग आफूहरु सहमत हुन नसक्ने स्पष्ट पारे ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको विधेयक परिमार्जन गरेर माग सम्बोधन गर्ने बाटो बाँकी रहेको भन्दै असन्तुष्टहरुलाई संयम बन्न आग्रह गरे । उनले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरे ।
अध्यक्ष दाहालले असन्तुष्टहरुसँग इमान्दारिताका साथ वार्ताको पहल गर्न सरकारलाई आग्रह गरे । उनले अब संविधान निर्माण प्रक्रियालाई भने अब कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जोखिम मोलेरै भए पनि आफूले संविधान निर्माण प्रक्रियालाई सहयोग गर्दै आए पनि अन्तिम समयमा आएर प्रमुख तीन दलले धोका दिएको आरोप लगाए ।
उनले मस्यौदा संशोधनमार्फत् ८ प्रदेशमा सहमति गरी आन्दोलनरत समुदायका माग पूरा हुने विश्वास व्यक्त गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु अहिले संविधानसभाबाट संविधान जारी गर्न तयार रहेको तर प्रमुख दलले पेलेरै जाने नीति अबलम्बन गरिरहे संविधानसभाबाटै बाहिरिन सक्ने चेतावनी दिए । इमेजखबरमा समाचार छ ।