काठमाडौं । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध कायमै छ ।
थरुहट संघर्ष समितिको आन्दोलन १७ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन बिहीबार १३ औं दिनमा पुगेको छ । इमेजखबरमा समाचार छ ।
आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला प्रभावित बनेका छन् ।
यी जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद रहेको छ । राजमार्गमा एस्कर्टिङ गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइए पनि प्रदर्शनकारीले त्यसमा पनि अवरोध पुर्याउँदै आएका छन् ।
नवलपरासीको सदरमुकाम परासी, राजमार्गको सुनवलदेखि बर्दघाटको पञ्चनगरसम्म लगाइएको निषेधाज्ञा आज चौथो दिन पनि जारी छ । आन्दोलनकारीले निषेधाज्ञा जारी गरिएका क्षेत्रबाहिर प्रदर्शन चर्काउँदै आएका छन् ।
बुधबार केही तनावग्रस्त बनेको परासी बिहीबार भने शान्त छ । प्रदर्शन हुन सक्ने भन्दै बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको छ ।
उता, बाँकेको कोहलपुरमा बुधबार साँझबाट कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बन्दै गएको छ । बाँकेमा आन्दोलनकारी र स्थानीय प्रशासनबीच दुबै तर्फबाट संयमता अपनाउने तथा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको छ ।
बर्दिया र दाङका अधिकांश क्षेत्रमा चार दिनदेखि निषेधाज्ञा जारी नै छ । बर्दिया सदरमुकाम गुलरियामा ११ बजेदेखि ५ बजेसम्म र बर्दियाको राजापुर बजार क्षेत्रमा बिहान ९ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले अहिले निषेधाज्ञा क्षेत्र बाहिर प्रदर्शन गरिरहेका छन् ।
उता, दाङमा भने दुई सातादेखिको बन्द सहज वन्दै गएको छ । यातायात सेवा सन्चालनमा आए सँगै बन्द केही सहज बनेको हो ।
जिल्लाका मुख्य वजारहरु घोराही, तुलसीपुर, नारायणपुर, दुधरास, विजौरी, लमही, भालुवाङ लगायतका बजार खुलेका छन ।
जिल्लामा क्रियाशील विभिन्न संघ सस्था र आन्दोलकारीबीच भएको छलफलमा विद्यालय सञ्चालन गर्ने र यातायात तथा वजार किनमेल सहज वनाउने सहमति भए पछि दाङको जनजीवन थप सहज भएको हो ।
यद्यपी आन्दोलकारीहरुले आफुहरुको शान्तीपुर्ण आन्दोलन भने जारी राखेका छन् । दाङ लगाइएको निषेधाज्ञा भने जारी नै छ ।
लगातारको बन्दले जनजीवन चौपट भएपछि स्थानीयले बन्दको बिरोधमा जिल्ला जिल्लामा दिनहुँ जसो सद्भाव र्यालीसमेत निकालिरहेका छन् । इमेजखबरमा समाचार छ ।