संविधानसभाको छलफलमा भाग लिँदै सभासद्हरुले संविधान जारी हुन नदिन भएका अनेकौं तानाबाना र षड्यन्त्रलाई परास्त तुल्याउँदै यथाशीघ्र संविधान जारी गर्ने कार्यमा सबैले सहयोग पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आज भएको छलफलमा सभासद्हरुले हिंसाबाट नभई शान्तिपूर्ण आन्दोलनमार्फत हकअधिकार स्थापित गराउन प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
आफैंले तयार गरेको संविधानको मस्यौदा उत्तम भएकाले अपनत्व ग्रहण गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ चनाखो हुनुपर्ने धारणा सभासद्ले व्यक्त गरे ।
संविधानसभाको छलफलमा भाग लिँदै उनीहरुले बन्द, हडताल, चक्काजाम सदाको लागि बन्द गर्नुपर्ने, हिमाल, तराइ र पहाड प्रदेशबीच एकता कायम गर्नुपर्ने, कसैको बहकाउमा लाग्न नहुने, समाजमा आतङ्क फैलाउन खोज्नेप्रति प्रतिकार गर्ने, क्षेत्रीयता, साम्प्रदायिकता र जातीयताको वकालत गर्नेको विरोध गर्नुपर्ने धारण राखे ।
उनीहरुले सामर्थ्य र पहिचानलाई केन्द्रबिन्दुमा राख्नुपर्ने, जनयुद्ध शब्द थप्नुपर्ने, महिला र दलितलाई आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने, धर्म निरपेक्षता कायम गर्नुपर्ने, संविधान छिटो घोषणा गर्नुपर्ने तर्क राख्नुहुने सभासद्मा क्रमशः नरबहादुर चन्द, झुलबहादुर आले, यज्ञराज सुनुवार, धर्मेन्द्र साह, पाँचकर्ण राई, योगेन्द्र चौधरी, गोकुलप्रसाद घर्ती, कमलाकुमारी घिमिरे, चण्डिप्रसाद राई, सिद्धिलाल सिंह, सुशीला चौधरी, वात्सा कुर्मी, दुमनसिंह थापा क्षेत्री, हरिप्रसाद उप्रेती, राजेन्द्र अमात्य, नरबहादुर थापामगर, आदित्यनारायण कसोधन, बुद्धिराम भण्डारी, रामकृष्ण घिमिरे, सिर्जना तमुरा खत्री, दीपेन्द्र क्षेत्री, सहेन्द्र वान्तवा, मधेस शाही थिए ।
त्यसैगरी, अधिकांश सभासद्ले कैलालीको टीकापुरमा घटेको घटनाको विरोध गर्दै घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्नुपर्ने, जनताभन्दा जाति र देशभन्दा व्यक्ति ठूलो नहुने, राजमार्ग बन्द गर्न नपाइने व्यवस्था मौलिक हकमा समावेश गर्नुपर्ने, स्थानीय निकायमा ५० प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, समानुपातिक शब्द थप्नुपर्ने, नेपाली भाषा लाद्न नपाइने विषयमा धारणा राख्नुभएको थियो ।
यसरी धारणा राख्ने सभासद्हरुमा अनारकली मिया, उमेशकुमार यादव, गोपाल कुँवर, सत्यनारायण भगतविन, कञ्चनचन्द्र बादे श्रेष्ठ, अशोककुमार मण्डल, धर्मेन्द्रकुमार लिली, कान्ता भट्टराई, रवनी चौधरी, ईन्द्रबहादुर बानिया, केशरी घर्तीमगर, पुष्पलता लामा, दिनेशप्रसाद प्रसार्इं र राजु थापा छन् । संविधानसभामा सभासद्हरुले बोल्नेक्रम अहिले पनि जारी छ । रासस