काठमाडौं । नयाँ संविधानको परिमार्जित विधेयक २०७२ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।
चार दिनदेखि निरन्तर चलेको छलफल आइतबार सकिएको हो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयकमा रहेका कमजोरी र त्रुटीहरुलाई संशोधनको माध्यबाट समाधान गरी संविधान जारी गर्नु राष्ट्रका लागि हितकर हुने बताए ।
संविधानसभा संविधान जारी गर्न एकाकार भएको उनले बताए । प्रस्तावनामा गौरवपूर्ण इतिहासका विषय संक्षेपमा भएको भन्दै उनले सबै विषय समावेश गर्न आवश्यक नभएको बताए ।
धर्मको विषयमा जनतामाझ गलत व्याख्या भएको भन्दै उनले राजनीतिक छलफलबाट टुंगोमा पुग्ने बताए ।
संघीयता नेपालमै नयाँ प्रयोग भएको भन्दै सिटौलाले प्रस्तावित प्रदेशमै समस्याको समाधान खोज्नुपर्ने बताए । प्रदेशको संख्या थपिए झन जटिलता थपिने भन्दै उनले प्रस्तावित प्रदेशलाई सफल बनाउनुपर्ने जिकिर गरे ।
संशोधन प्रस्ताव राख्दा पार्टीगत निर्णय गरी सबै पार्टी एक भएर अघि बढ्नुपर्ने उनले बताए ।
नागरिकतामा अन्तरिम संविधानमा भएको अधिकार कटौती नभएको उनले प्रष्ट पारे । अन्तरिम संविधानमा नागरिकताका सम्बन्धमा नभएका प्रावधान समावेश भएको उनको भनाई छ ।
कमजोर वर्गलाई अघि बढाउनका लागि विशेष अधिकारहरुको व्यवस्था मौलिक हक अन्तर्गत समावेश भएको उनले बताए ।
यसैबीच परिमार्जित विधेयकमाथिको संसोधन प्रस्ताव दर्ता गर्नका लागि भदौ १९ गतेसम्मको समय दिइएको छ ।
संविधानसभाको बैठक अर्को सुचना जारी नहुदासम्मका लागि स्थगित भएको छ । इमेजखबरमा समाचार छ ।