थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले २० दिनदेखि कपिलवस्तु बन्द घोषणा गर्दा जनजीवन नराम्ररी प्रभावित बनेको छ।
बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका स्थान पूर्णरुपले ठप्प बनेका छन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात, बजार पूरै प्रभावित बनेको छ।
लगातारको बन्दका कारण सदरमुकाम तौलिहवामा ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नको पनि अभाव हुन थालेको छ। स्थानीय प्रशासनले सदरमुकाम तौलिहवा क्षेत्रको जिल्ला प्रशासन कार्यालय आसपासको करिब २५० मिटरको वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रदर्शनकारीबाट हुनसक्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र विभिन्न चोकमा सुरक्षाकर्मी खटाइएको छ ।
प्रदर्शनकारीले दिनहुँजसो निषेधित क्षेत्र बाहिर शान्तिपूर्वक प्रदर्शन गरिरहेका छन्। रासस