१४ दिनदेखि आमरण अनशन बस्दै आएका डा.गोविन्द केसीले अनशन तोडे

काठमाडौं  । १४ दिनदेखि आमरण अनशन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अनशन तोडेका छन् ।
आइतबार अपरान्ह ३ः३० बजे डा. केसीले जुस पिएर अनशन तोडेका हुन् ।
डा. केसीलाई अनशन तोडाउन नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी शिक्षण अस्पताल पुगेका थिए ।
स्थानीय १८ महिने बालिका सुवानी उप्रेती र डोल्पाका एक बिरामी फूर्वा शेर्पाका हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् ।
शनिबार मध्यरातमा र सरकारसँग ११ बुँदे सम्झौता भएपछि डा. केसीले अनशन तोडेका हुन् ।
डा. केसी चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायतमा माग राखेर आमरण अनशन बसेका थिए ।
प्रा. डा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुसार अब बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गरिने भएको छ । यसैगरी चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने सहमति गरिएको छ ।
उक्त प्रतिवेदनको सुझाव बमोजिम ३ महिनाभित्र संसदमा चिकित्सा शिक्षासम्बन्धी नीति तयार पारी सो बमोजिम कानूनको मस्यौदा बनाएर पेश गरिने छ । प्रतिवेदनले सुझाएअनुसार काठमाडौं उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङका लागि मनसायपत्र नवीकरण नगर्ने र यो विषयमा राष्ट्रिय योजना आयोगले प्रस्तावित चिकित्सा शिक्षा आयोगको संलग्नतामा तयार गर्ने मानव स्रोत विकास रणनीति अनुसार जनशक्ति र स्थानको पहिचान गरी समग्र पक्षको विश्लेषण गरी आवश्यक कारवाही गरिने छ ।
एमबीबीएस कार्यक्रममा अधिकतम वार्षिक सिट १३५, ११५ र १०० मा झारिने छ । एमबीबीएस अध्ययनका लागि अधिकतम शुल्क ३५ लाख कायम गरिएको छ ।
यसअनुसार व्यवस्था गर्न विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल र प्रतिष्ठानहरुलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिने सहमति गरिएको छ । इमेजखबरमा समाचार छ ।