काभ्रेपलाञ्चोकको कोशीपारिको दुर्गम गाविस मानिने पोखरीचौरीमा स्थानान्तरण भएका भूकम्पपीडितलाई बत्ती, खानेपानी र शौचालयको अभाव हुन थालेको छ।
स्थानान्तरण भएका पीडितहरुले आफ्ना पशुपंक्षी, अन्नपात राख्नसमेत समस्या भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन्।
‘पहिले बस्नका लागि नै समस्या भयो तर अहिले समस्या थपिँदै गएको छ,’ भूकम्पपीडित आवास विस्थापित व्यवस्थापन समितिका अध्यक्ष उद्धवबहादुर गौतमले भने।
उनले त्रिपालमा बस्दा सबैभन्दा बढी प्रभावित सुत्केरी महिला र बालबालिका भएको उल्लेख गर्दै चर्को घाम लाग्दा सालको पातको छाप्रो हालेरसमेत सुत्केरी महिलाले जीवन गुजारेको बताए।
अध्यक्ष गौतमले राहतको नाममा प्रचारप्रसार बढी गरेको जिकिर गर्दै खानेपानीको पाइप लगेर राखे पनि सम्बन्धित निकायले पाइप जडान नगर्दा खानेपानीको अभाव भएको बताए।
स्थानान्तरण भएपछि जीवन सुरक्षा गर्नेबाहेक केही भएको छैन, त्यसैले अधिकांश विस्थापितहरुले आफ्ना गाईवस्तु र बाख्रा बेच्न थालेका छन्।
स्थानान्तरण भएपछि सुत्केरी भएका महिला र बच्चाका लागि पोषणको समेत अभाव भएकोले उनीहरुको अवस्था चिन्ता लाग्दो भएको बताए।
तर काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले सधैँ सरकारको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने कुरामा जोड दिँदै शौचालय र खानेपानीका लागि व्यवस्थापन भएको बताए। उहाँले बत्तीका लागि सोलार जडान भएको समेत जानकारी दिए।
पोखरीचौरी गाविसमा रुम्टी, खार तुषारे र पात्लेखेत गाविसका स्थानीय बासिन्दालाई पहिरोको जोखिम भएको भन्दै सो गाविसकै केउरेनी, जुँगेडाँडालगायतका स्थानमा ८२४ घरपरिवारलाई स्थानान्तरण गरिएको थियो । जिल्लामा कुल करिब ६०० घर स्थानान्तरण भएका छन्। रासस