विदेश भाग्न खोज्नेहरुलाई बाइबाइ भन्दै इमान्दार भएर मुलुक निर्माणमा लाग्न मन्त्री पण्डितको आग्रह

काठमाडौं  । सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले इमान्दार भएर मुलुक निर्माणमा लाग्न आग्रह गरेका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उनले नेपालीहरु आफ्नो कामप्रति लगनशील र इमान्दार नभएको बताए ।
मन्त्री पण्डितले दण्डहीनताको अन्त्य गरी अपराधीलाई ठीक लगाएपछि मात्र मुलुक अगाडि बढ्ने भन्दै राजनीति गर्ने व्यक्तिले डिभी, पिआर लिन नपाउने व्यवस्था गर्न आफू लागेकाले त्यसमा साथ दिन आग्रह पनि गरे ।
केही व्यक्ति स्वदेशमा बसौं की विदेश भागौं भन्ने दोधारमा रहेकाले भाग्न खोज्नेहरुलाई बाइबाइ गर्नुको विकल्प नभएको पण्डितको तर्क छ ।
मन्त्री पण्डितले कटाक्ष गर्दै शरीर नेपालमा नहुनेहरुले नेपालको नागरिकता लिएर मात्र केही गर्न नसक्ने भन्दै भाग्नेहरु भागेपछि नेपालमा रहनेहरुले मुुलुक निर्माणमा लाग्नुपर्ने बताए ।
मन्त्री पण्डितले अहिले केही शक्ति जातजाति र पहिचानका नाममा संविधान बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाए ।
उनले नेपाल र नेपालीको पहिचान वीर गोर्खाली र गौतम बुद्धले दिइसकेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विद्यार्थी सम्मानित भए । इमेजखबरमा समाचार छ ।