काठमाडौं । राप्रपा नेपालले संविधान लेखन प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग रहने निर्णय गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमार्फत संविधान लेखनको प्रक्रियाबाट बाहिरिने पार्टी निर्णय सार्वजनिक गरेका हुन् ।
राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ, थापाले ट्वीट गरेका छन् ।
मंगलबार बसेको संविधानसभाको बैठकमा थापाले आफुहरु संविधान लेखनबाट बाहिरिने या बसिरहने भन्नेमा दोधारमा रहेको बताएका थिए ।
संसोधन प्रस्ताव राख्न रोष्ट्रममा पुगेका थापा आफुहरुलाई संविधान लेखनमा निषेध गरिएको भन्दै प्रस्ताव नै नराखी फर्किएका थिए । संविधानसभामा राप्रपा नेपालका २५ जना सभासद छन् । इमेजखबरमा समाचार छ ।